चोरीको मोटरसाइकल र बन्दुकसहित दुई जना पक्राउ



धादिङ,कात्तिक १२— धादिङको गजुरी गाउँपालिका–८ मजुवा र सिउरेनीका दुई जनालाई चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आज बिहान करिब ६ बजे मजुवा निवासी १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सिउरेनी निवासी २२ वर्षीय शिशिर तामाङ पक्राउ परेका हुन्।

सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो–निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र एक थान बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटीमा चोरीसम्बन्धी कसुरका मुद्दा नम्बर ७५६ र ७६६ तथा प्रहरी वृत्त थानकोटमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ। त्यस्तै, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ८४ दर्ता भएको पाइएको छ।

बरामद मोटरसाइकल र बन्दुकसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्