बाइडेनलाई दियो चीनले बधाई



एजेन्सी,कात्तिक २९ । अमेरिकाका ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई चीनले बधाई दिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले शुक्रबार बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई  बधाई दिएका हुन्।

‘हामी अमेरिकी जनताको रोजाइलाई सम्मान गर्छौं र  बाइडेन र ह्यारिसलाई बधाई व्यक्त गर्छौं,’ वेन्बिनले भने।  उनले  अमेरिकी कानुन अनुसार चुनावको अन्तिम मतपरिणाम घोषणा  हुने विश्वास पनि व्यक्त गरे।

राष्ट्रपति निर्वाचित हुन चाहिने २७० इलेक्टोरल  कलेज  मत पाएपछि गत शनिबार बाइडेन अमेरिकाको राष्ट्रपतिमा विजयी भएका थिए। केही राज्यमा अझै मतगणना जारी रहेकाले चुनावको अन्तिम परिणाम आउन बाँकी छ। बेइजिङले औपचारिक रिजल्ट कुरेकाले बधाई पठाउन ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्