आज कुकुर तिहार, कुकुर सम्बन्धि ११६ उखान टुक्का जानौ



काठमाडौं,कात्तिक २९ । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।

कुकुर सम्बन्धि नेपाली समाजमा विभिन्न उखान टुक्का समेत प्रचलित छन् । आउनुहोस् नेपाली समाजमा चलिआएका ती उखान टुक्का सम्बन्धि जानकारी राखौं

१.भुक्ने कुुकुर भुकिरहन्छ, टोक्ने कुकुर सुतिरहन्छ ।
२.सबै कुकुर काशी गए गु केले खाला ।
३.कति धोक्न सकेको कुकुरको मुत ।
४.कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा नटोक्नु ।
५.अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ ।
६.कुकुरलाई घिउ पच्दैन ।
७.भुईमा न भाँडा कुकुरलाई टाँडा ।
८.कुकुर्नीका दशवटा पोई मर्ने बेला कोइ न कोइ ।
९.कुकुरको जस्तो जहाँ पायो त्यही मुत्दै नहिंड ।
१०. कुकुरजस्तो कति भतुवा लाग्न गको ।
११. कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि बांगाको बांगै ।
१२. कुकुरजस्तै बफादार हुनु ।
१३. भुक्ने कुकुरले टोक्दैन ।
१४.बोकेको कुकुरले मृग मार्दैन ।
१५. कस्तो कुकुरकोजस्तो सोमत नभको ।
१६. कुकुरजस्तो कति लखरलखर हिंडछस् ए ।
१७. कुकुरको मुत जस्तो कति चुहिएको ।
१८. कुकुर्नीजस्ती कति व्याउन सकेकी ।
१९. कस्तो कुकुरको जस्तो निद्रा ।
२०. कुकुरको जस्तै जाकिएला होस गरेस् ।
२१. कति मिलिक मिलिक ग¥या कुकुर जस्तो ।
२२. द्वारे लाग्यो बोलाउन कुकुर पुच्छर डोलाउन ।
२३. भुक्ने कुकुरभन्दा नभुक्नेदेखि डराउनु ।
२४. नबोलाईकन त कुकुर पनि जाँदैन ।
२५. भोटे कुकुर भुक्ला घरमा कुरा पुग्ला ।
२६. काम छोडी कैफेद कुकुरलाई नैवेद ।
२७. लात्तीले हानेको कुकुर बैठक माथि ।
२८. जहाँ हड्डी, त्यही बस्छ कुकुर अड्डी ।
२९. कति कुकुरजस्तो लिप्रिक लिप्रिक गरिराको ।
३०. सोझाको मुखमा कुकुरले नि मुत्छ ।
३१. के कुकुरलेजस्तो चाटीचाटी खाको ।
३२. कुकुरको पनि दिन आउँछ ।
३३. कुकुर अज्ञानी हुन्छ र बोलाउनुपर्छ, मानिस त ज्ञानी हुँदा त्यसै पनि जानुपर्छ ।
३४. कुकुर एक गाँस खान पायो भने त्यसैमा रमाएर बस्छ, ढुकुर चौरासी व्यन्जन खान पाएपनि एकै ठाउँमा बसिरहन सक्दैन ।
३५.कुकुर पुच्छर लौर न हतियार ।

३६. कुकुरका छाउरा गन्न पठाएजस्तो ।
३७. कुकुर काटी बिरालो पोस्ने ।
३८. कुकुर कि टाँडमा बस्छ, कि डाँडमा बस्छ ।
३९. कुकुर कुटी पाहुना, तर्साउनु ।
४०. कुकुर कुटी वर, ज्वाईं कुटी पर ।
४१. कुकुरको काम छैन, बस्न मान्दैन ।
४२. कुकुरको काम छैन, सुस्त हिँड्न जान्दैन ।
४३. कुकुरको काम न खाजा ।
४४. कुकुरको काम पनि छैन, खाने बेलामा माम पनि छैन ।
४५. कुकुरको काम पनि छैन, फुर्सद पनि छैन ।
४६. कुकुरको घरमा मासुको जिलो खोजेर कहाँ पाइएला ।
४७. कुकुर खुशी भए पुच्छर हल्लाउँछ ।
४८. कुकुर जतिसुकै टोकाटोक गरेपनि भुक्ने बेलामा सब एक मुख लाग्छन् ।
४८. कुकुरको जिब्रो जति राल चुहाए पनि मुखै भित्र ।
४९. कुकुरको जुठो खानु, छोराको नखानु ।
५०. कुकुरको निउँ पारी चम्चेको दाउ ।
५१. कुकुरको पनि आफ्नो घरमा ठूलो स्वर ।
५२. कुकुरको पुच्छर बाँगो देख्दा पनि हाँस्ने ।
५३. कुकुरको भाउ छ, मानिसको भाउ छैन ।
५४. कुकुर खाने बाघले मान्छे पनि खान्छ ।
५५. कुकुर जस्तो गुनी र ज्वाईं जस्तो वैगुनी कोही हुँदैन ।
५६. कुकुर जहाँ खान पाउँछ, त्यहीँ भतुवा लाग्छ ।
५७. कुकुर तर्संदा नडराउनु, भैंसी तर्संदा डराउनु ।
५८. कुकुर बिरालोले जोगाएको सम्पत्ति, इष्टले जोगाएको धन ।
५९. कुकुर बिरालोजस्तै लगारालगार ।
६०. कुकुर भन्छ जहान बढुन्, विरालो भन्छ सबै मरुन् ।
६१. कुकुर पनि हरायो, घाँडो पनि हरायो ।
६२. कुकुर पाली, आफैं भुक्ने ।
६३. कुकुर बिरालाको जात हतपत मर्दैन ।
६४. कुकुर भुके हजार हात्ती चले बजार ।
६५.कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ ।
६६. कुकुर भुक्यो राती, जंगल भाग्यो हात्ती ।
६७. कुकुर मरे झैं मरेको ।
६८. कुकुर र विरालो जस्तै ।
६९. कुकुरलाई एकै गाँस जूठोपुरो खान दिएपनि त्यो सधैं आफ्नो हुन्छ, ढुकुरलाई बाह्र वर्षसम्म चौरासी व्यन्जनले सत्कार गरेपनि कहिल्यै आफ्नो हुँदैन ।
७०. कुकुरलाई काम्लो र कुखुरालाई दाम्लो कहिले होस् ।
७१. कुकुरलाई घीउ नपचेको ।
७२. कुकुरलाई घीउ र भुटेको वीउ ।
७३. कुकुरलाई जिस्क्याए टोक्छ, मूर्खलाई जिस्क्याए ठोक्छ ।
७४. कुकुरलाई जूठो भातले र बुढाबुढीलाई रोगव्याधाले कहिल्यै छोड्दैन ।
७५. कुकुरलाई पनि च्यै नभनी आउँदैन ।
७६. कुकुरलाई पराल, गाईलाई मासु ।
७७. कुकुरलाई प्यारो गरे आफ्नै मुख चाट्छ ।
७८. कुकुरलाई प्यारो गरे गुहु ख्वाईदिन्छ ।
७९. कुकुरलाई बेथा लाग्दा बाख्रो नमन्छनु ।
८०. कुकुरलाई मासुभात खान दिए पनि गुहु खान छोड्दैन ।
८१. कुकुरलाई मासु पैंचो ।
८२. कुकुरलाई लागेको जाडो र पाहुनालाई लागेको भोकको कसले वास्ता गर्छ ।
८३. कुकुरलाई सुनकै थालमा भात खान दिए पनि त्यसलाई घोप्ट्याएर भुइँमै खान्छ ।
८४. कुकुरलाई हानेको तीर ढुकुरलाई गएर लाग्यो ।
८५.कुकुरले आगो ल्याओस् न फुकोस् ।
८६. कुकुरले आफ्नो मालिकलाई जिन्दगीभर पर्खिरहन्छ ।
८७. कुकुरले कपास छरोस् न धोती लाओस् ।
८८. कुकुरले कहाँ भुक्छ, कहाँ भुक्दैन ।
८९. कुकुरले टोके पनि खराव, चाटे पनि खराव ।

९०. कुकुरले दाइँ हुने भए गोरु केलाई चाहियो ?
९१. कुकुरले दौडने मान्छेलाई र पुलिसले डराउने मान्छेलाई लखेट्छन् ।
९२. कुकुरले पनि पेट पाल्छ ।
९३. कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाएको ।
९४.कुकुर र ड्राइभरले एकपटक हिँडेको बाटो कहिल्यै भुल्दैन ।
९५. कुकुरले हाड छोडेझैं छोड्ने ।
९६. कुकुर सानो भए पनि ठूलो भए पनि बेहोरा उस्तै ।
९७. सुघरी स्वास्नीको पोई मोटाउँछ, फोहोरै स्वास्नीको कुुकुर मोटाउँछ ।
९८.विना चालले कुकुर भुक्दैन, मुलाको ड्याङमा हात्ती लुक्दैन ।
९९. कुकुरको घरमा विरालो पाहुना ।
१००. माइती घरको कुकुर नि प्यारो हुन्छ ।
१०१. कुकुरको जस्तो निद्रा, बकुल्ला को जस्तो ध्यान होस !
१०२. कुकुरको पुच्छरले इन्द्रिय पनि छोप्दैन झिंगा पनि धपाउदैन ।
१०३. कुकुरलाई पुराण सुनाएर के काम, गु खान छोड्दैन ।
१०४.धोबीको कुकुर न घरको न घाटको ।
१०५. कुकुरले मुत्न नपरे काशी पुग्थेँ भन्छ रे ।
१०६. कुकुरलाई पुराण सुनाएर के काम ।
१०७. कुकुरको पुच्छर न झिंगा धपाउँछ न लाज लुकाउँछ ।
१०८. कुकुरले लखेटे नभाग्नु, प्रतिरोध गरे कुकुर आफैं भाग्छ ।
१०९. कुकुरको निद्रा छोटो हुन्छ ।
११०.कुकुर बिरोलो जस्तो सँधै झगडा गर्ने ।
१११. कार्तिकको कुकुर जस्तो ।
११२. साहुको घरको कुकुर हुनु पो जाती रहेछ ।
११३. कुकुरलाई हान्दा ढुकुरलाई लागेछ ।
११४. सबेरै त कुकुरले पनि गु खान भ्याछैन ।
११५. घामपानी घामपानी स्यालको बिहे कुकुर जन्ति बिरालो बाहुन ।
११६. कुकुरका बच्चा ग्याल्ग्याल्ती ।

उखान टुक्का पत्रकार नवदीप अजनवीबाट

प्रतिक्रिया दिनुहोस्