मेरो उपचार खर्च म आफैँ बेहोर्छु सरकारले आफ्ना कर्तव्य पूरा गरोस् : डा. केसी



काठमाडौं कात्तिक २९ ।

प्रा.डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं बेहोर्ने बताएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका केसीलाई प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले गर्ने बताएपछि डा. केसीले यस्तो भनेका हुन्। डा.केसीले विज्ञप्तिमार्फत प्रधानन्त्रीलाई शुभकामना सन्देशका लागि धन्यवाद दिँदै उपचार खर्च आफैं गर्ने बताएका हुन्।

‘म कोभिड–१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु’, डा.केसीले विज्ञप्तिमा भनेका छन्, ‘सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।’

डा.केसीले कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनैको उपचार गर्न सरकारलाई सुझाव दिएका छन्। ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ’, डा.केसीले भनेका छन्।

विज्ञप्तिमा केसीले उपचार खर्च भन्दा पनि पटक(पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्