रानीपोखरीको बालगोपालेश्वर बिहान ५ देखि साँझ ५ बजेसम्म खुल्ने



काठमाडौं कात्तिक ३० । यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ ।
भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो । यस वर्ष आगामी मङ्सिर १ गते सोमबार भाइटीका परेको छ ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।

भाइटीकाकै लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको कामपा वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्