कोरोनाका कारण भारतमा थप ८ नेपालीको निधन : एनआरएनए



काठमाडौं कात्तिक ३० । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो । एनआरएनए स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ जना पुगेको छ ।

सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत रहेको छ ।

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

एनआरएनएको स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्