सरकारले वैदेशिक रोजगारीबाट फर्किएर बेरोजगार भएका युवाहरुको तथ्यांक संकलन गर्ने



काठमाडौं कात्तिक ३० ।

सरकारले विदेशबाट फर्किएर मुलुकभित्र बेरोजगार भई बस्नु परेका युवाहरुको तथ्यांक संकलन गर्ने भएको छ ।

वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पुगेपनि कोरोना संक्रमणका कारण स्वदेश फर्किएर बेरोजगार बस्न बाध्य भएका युवाको तथ्यांक संकलन गर्ने तयारी गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हरेक स्थानीय तहहरुलाई रोजगार संयोजक मार्फत तथ्यांक संकलनको कार्य थाल्न निर्देशन समेत दिईसकेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

कोभिड–१९ को कारणबाट भारतसहित अन्य मुलुकबाट रोजगारी गुमाएका वा अध्ययन गरी फर्किएका १८ देखि ५९ वर्ष समूहका शिक्षित तथा दक्ष बेरोजगार युवाको तथ्यांक संकलन गरिनेछ । मन्त्रालयले १५ दिन भित्र यस्तो तथ्यांक पठाउन सबै स्थानीय तहलाई आग्रह समेत गरेको छ ।

तथ्यांक संकलन गर्दा जिल्ला, पालिका, वडा, नामथर र व्यक्तिगत अन्य विवरण संकलन गरिने मन्त्रालयले जानकारी दिएको छ । विदेशमा रहँदा संलग्न भएको सीप र तालीम, कुन मुलुकबाट फर्केको, विदेशबाट फर्कनुको कारण र सम्पर्क नम्बरसहितको प्रतिवेदन संकलन गर्न लागिएको हो ।

साथै नेपालमै रहेर बेरोजगार बस्नु परेका युवाको समेत विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ । यसरी संकलन भएर आएको विवरणमा आधारित भई मुलुक भित्रै स्वरोजगारी र रोजगारी सिर्जनाको कार्ययोजना निर्माणको जिम्मा अर्थ मन्त्रालयलाई दिईएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्