नेपाल–भारत सीमा नाका नखोलिए आन्दोलन गर्ने सर्लाहीवासीको चेतावनी



सर्लाही मंसिर १ ।

नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सो नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका वासिन्दाले आफूहरू समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सोमवार जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले मंगलवारदेखि आन्दोलन गरिने निर्णय गरेको जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा भारततर्फ जाने बाटोमा मंसिर २ र ३ गते ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको छ ।

सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि, संघीय सभा, प्रदेश सभाका सदस्य, पालिका प्रमुखलगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरू खुला नगरिए आन्दोलनका थप कार्यक्रम सञ्चालन गर्ने प्रमुख चौधरीद्वारा सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।

सीमा नाका मंसिर १ गतेदेखि खुल्ने आशमा रहेका जनता कात्तिक ३० गते सरकारले थप १ महिना बन्द गर्ने निर्णय गरेपछि आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्