बन्द विद्यालय सञ्चालन गर्ने जिम्मा पालिकालाई



काठमाडौ,मंसिर ३ । सरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय सञ्चालन गर्ने जिम्मा पालिकालाई दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको हो ।

मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो । कोरोना संक्रमणको जोखिम बढेपछि शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरु बन्द गरेको छ । अब संक्रमणको जोखिम मूल्यांकन गरी विद्यालय बन्द गरिराख्ने कि खोल्ने भन्ने निर्णय स्थानीय सरकारले नै गर्न सक्ने छन् । विद्यालय सन्चालनको कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

स्थानीय सरकारहरुले अब एकै समयमा सबै कक्षा वा अलग–अलग समयमा अलग–अलग कक्षा सन्चालन गर्न सक्ने छन् । कक्षा अवधिको समय छोट्याउने र हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सन्चालन गर्ने विकल्प समेत दिइएको छ । गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मंसिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्तांकका लागि प्रत्यक्ष परीक्षा हुँदैछ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय (होम सेन्टर) का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्