दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न कास्कीका किसानको माग



कास्की, मंसिर १२ । कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। उत्पादन लागत निरन्तर बढ्दै गए पनि तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको भन्दै किसानले उचित मूल्य निर्धारण गर्न माग गरेका हुन्।

सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी हाल दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्रै पाउँदै आएको जनाएको छ। उक्त मूल्यले उत्पादन लागत र किसानको श्रमको उचित प्रतिफल दिन नसकेको सहकारीको भनाइ छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उहाँले बताउनुभयो।

दाना, चोकर, घाँस, औषधोपचार, श्रम तथा ढुवानी खर्च बढ्दै जाने तर दूधको मूल्य नबढ्ने अवस्था कायम रहे किसान पशुपालन पेसाबाट विस्थापित हुन सक्ने अध्यक्ष बरालले बताउनुभयो। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण गर्नुपर्ने उहाँको भनाइ छ।

किसानले दूधको मूल्य प्रतिलिटर कम्तीमा ८० रुपैयाँ कायम गर्नुपर्ने मागसहित बिक्री गरेको दूधको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन्। त्यस्तै, पशुको स्वास्थ्योपचार तथा खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन, उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन र कृत्रिम गर्भाधान सेवा निःशुल्क गर्नुपर्ने माग गरेका छन्।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताउनुभयो। यस अवधिमा दाना र चोकरको मूल्य २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको उहाँको भनाइ छ। उत्पादन लागत बढिरहने तर दूधको मूल्य स्थिर रहने हो भने किसानलाई पशुपालन पेसामा टिक्न कठिन हुने उहाँले बताउनुभयो।

त्यस्तै, माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृषक कृष्णप्रसाद अधिकारीले उपभोक्ताले बजारमा महँगो मूल्यमा दूध खरिद गर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको बताउनुभयो।

किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै उहाँले दूधको मूल्य निर्धारण गर्दा उत्पादक किसानको लागत र समस्यालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्