डेरामा आगलागी हुँदा नुवाकोट शिवपुरीका तामाङको मृत्यु, २ जना घाइते



नुवाकोट मंसिर ३ । काठमाडौँको कपन बालुवाखानी चोकस्थित आफ्‍नै डेरामा आगलागी हुँदा नुवाकोट शिवपुरी ५ का कृष्णबहादुर तामाङको मृत्यु भएको छ । नारायणबहादुर बस्नेतको घरमा डेरा गरी बस्ने ३९ वर्षीय तामाङको सोमबार निधन भएको कपन प्रहरी चौकीका इन्चार्ज शेखरजंग मल्लले जनाकारी दिए । उनका अनुसार अन्य दुई जना घाइते भएका छन् ।

तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका इन्चार्ज मल्लले जनाए । उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

आगलागी भएको बताइए पनि यकिन कारण नखुलेको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कृष्णबहादुर तामाङको मृत्यु शंकास्पद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्