भोटेकोसी–त्रिशूली बाढी प्रभावितका लागि तीन अर्ब अनुदान आउने



काठमाडौं,कात्तिक ७ । भोटेकोसी–त्रिशूली क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि नेपालले करिब तीन अर्ब रुपैयाँ अनुदान पाउने भएको छ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिअन्तर्गतको हानि–नोक्सानी सम्बोधन कोषले नेपाललाई दुई करोड अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको हो। कोषको कात्तिक ५ गते बसेको पहिलो असाधारण बैठकले गत भदौ १० गतेको बाढीबाट प्रभावित समुदायको आवश्यकता सम्बोधन गर्न नेपालले गरेको अनुरोधका आधारमा अनुदान स्वीकृत गरेको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालका अनुसार कोषको सचिवालयबाट औपचारिक पत्र र रकम परिचालनसम्बन्धी कार्यविधि प्राप्त भएपछि सरकारले विस्तृत प्रस्ताव पेस गर्नेछ। अनुदान प्रभावित परिवारको पुनःस्थापना, जीविकोपार्जन र पुनर्निर्माणमा खर्च गर्ने तयारी छ।

सरकारका प्रारम्भिक विवरणअनुसार बाढीबाट करिब एक हजार ५०० जनाको मृत्यु भएको, पाँच हजारभन्दा बढी बेपत्ता भएको र १५ हजार परिवारका ६० हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन्। बाढीबाट भएको प्रारम्भिक आर्थिक क्षति दुई अर्ब ७० करोड अमेरिकी डलर अनुमान गरिएको छ।

जलवायुविद्हरूले प्रभावित समुदायसम्म अनुदानको लाभ पुर्‍याउन परियोजना प्रस्ताव, स्वीकृति र कार्यान्वयनको प्रक्रिया समयमै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्