रसुवाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
रसुवा,कात्तिक ७ । भोटेकोसी नदीमा आएको बाढीका कारण नागरिकतासहित महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौँस्थित होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको थियो। बाढीमा परी सर्वसाधारणका नागरिकतासहित विभिन्न महत्त्वपूर्ण कागजात हराएका वा नष्ट भएका थिए। नागरिकता अभावमा राहत, पुनःस्थापना तथा अन्य प्रशासनिक काममा समस्या नहोस् भन्ने उद्देश्यले होल्डिङ सेन्टरबाटै सेवा दिन थालिएको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय र गोसाइँकुण्ड गाउँपालिकाको पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए। उनका अनुसार होल्डिङ सेन्टरबाटै आवेदन फाराम सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा प्रमाणीकरण तथा नागरिकता छपाइ गर्ने र पुनः होल्डिङ सेन्टरमै लगेर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ।
पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ। प्रभावितहरूको आवश्यकताअनुसार अन्य प्रशासनिक सेवा पनि क्रमशः उपलब्ध गराइनेछ।
यसैगरी, नुवाकोटस्थित होल्डिङ सेन्टरमा रहेका रसुवाका बाढी प्रभावितलाई नागरिकताको प्रतिलिपि उपलब्ध गराउन आइतबार प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेसहितको टोली परिचालन हुने भएको छ। टोलीले प्रभावितको विवरण सङ्कलन गरी आवश्यक कागजात मिलाएर होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

