नुवाकोटको पञ्‍चकन्यामा युवाहरुबीच कुटाकुट, एक घाइते



नुवाकोट मंसिर ३ । नुवाकोटको पञ्‍चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभन्ज्याङमा युवाहरुबीच कुटाकुट भएको छ ।

विमल लामा नेतृत्वको युवाहरुको समूहले स्थानीय ३९ वर्षीय विष्णु तामाङमाथि सोमबार राति कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार घाइते विष्णुको निधारमा गम्भीर चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीहरुमा उपचार सम्भव नभएपछि काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको छ ।

घटनालगत्तै कुटिएका विष्णुका बुबाले इलाका प्रहरी कार्यालय पञ्‍चकन्यामा उजुरी दिएका थिए । त्यसपछि खटिएको टोलीले घटनामा संलग्न नौ जना युवाहरुलाई नियन्त्रणमा लिइ मंगलबार मेलमिलाप गराइएको थियो । घाइते विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सर्तमा ती युवाहरुलाई छाडिएको छ ।

मादक पदार्थ सेवन गरी आपसमा विवाद हुँदा झगडा भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्