जीवन बीमा कम्पनीको मुनाफामा वृद्धि



काठमाडौं, मंसिर ४ । चालू आर्थिक वर्ष (आव) २०७७र २०७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २४ दशमलव २८ प्रतिशतले बढेको छ । १९ जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कोरोना महामारीकै कारण यस अवधिमा वाणिज्य बैंकलगायत अन्य क्षेत्रका कम्पनीहरूको नाफा घटेको छ । तर, जीवन बीमा कम्पनीहरूको नाफाको वृद्धिदर भने दोहोरो अंकको देखिएको छ । समीक्षा अवधिमा अन्य क्षेत्रको तुलनामा जीवन बीमा व्यवसायमा कोरोनाको असर न्यून देखिएको बीमा कम्पनीहरू बताउँछन् ।

गत आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले रू १ अर्ब १ करोड ६० लाख खुद नाफा कमाएका थिए । तर, चालू आवमा त्योभन्दा २४ करोड ६७ लाख बढी अर्थात् रू १ अर्ब २६ करोड २७ लाख खुद नाफा कमाएका छन् । कम्पनीहरूको बीमांकीय मूल्यांकन भएपछि नाफा थप बढ्ने छ । बीमांकीले बीमांकीय मूल्यांकन गर्दा जीवन बीमा कोषबाट केही रकम नाफानोक्सान खातामा पठाउन सक्ने व्यवस्था छ । त्यसैले बीमांकीय मूल्यांकनपछि नाफा थप बढ्ने कम्पनीहरूको भनाइ छ ।

जीवन बीमक संघ नेपालका अध्यक्ष तथा मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मलकाजी श्रेष्ठले कोरोनाबाट जीवन बीमा व्यवसाय त्यति ठूलो मात्रामा प्रभावित नभएको बताए । ‘यो विषम परिस्थितिमा पनि ग्राहकहरूले बीमा पोलिसीलाई निरन्तरता दिनुभएको छ । नयाँ व्यवसाय पनि थपिएको छ,’ उनले भने, ‘फलस्वरूप बीमा व्यवसाय बढ्न पुगेको हो ।’

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्