प्रचण्डको ‘काउन्टर’मा प्रधानमन्त्री ओलीको छुट्टै प्रस्ताव



काठमाडौं, मंसिर ४ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मङ्सिर १३ गते पुनः बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को ‘काउन्टर’मा छुट्टै प्रस्ताव ल्याउने बताएपछि सचिवालय बैठक सरेको हो ।

सत्ता सञ्चालन र पार्टीका आन्तरिक गतिविधिलाई लिएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको समयमा बुधवार नेकपाको सचिवालय बैठक बसेको थियो । बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सार्ने निर्णय पनि गरेको छ ।

सचिवालयको बैठक सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे पनि अध्यक्ष प्रचण्ड र अन्य सचिवालयका सदस्यहरूले बैठक सार्न नहुने अडान लिएपछि बुधवार नै बैठक बसेको थियो । तर बुधवारको बैठकमा अध्यक्ष ओलीले आफूले पनि प्रस्ताव ल्याउने बताएपछि बैठक १० दिनपछि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीभित्रको आन्तरिक विवाद लगायत सबै विषय र प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयास गरिनेछ । आगामी मङ्सिर १३ गते बस्ने बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओली दुवैका प्रस्तावमाथि छलफल हुने श्रेष्ठले जानकारी दिए ।

यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएपछि ओली पक्षले प्रचण्डलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो भने प्रचण्ड पक्षले फिर्ता नलिने अडान लिएपछि नेकपामा विवाद चर्किएको थियो । पार्टीभित्रको शक्ति संघर्ष बढ्दै जाँदा मंगलवार प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छुट्टाछुट्टै भेटेका थिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्