विश्व बैंकसंग थप ४२ अर्ब रुपैयाँ ऋण लिने सम्झौता



काठमाडौं, मंसिर ४ । विश्व बैंकसंग सरकारले थप ४२ अर्ब रुपैयाँ ऋण लिने भएको छ । शहरी विकास, वित्तीय क्षेत्रको सुदृढीकरण र कोभिड–१९ पश्चातको पुनरुत्थानका लागि सरकार र विश्व बैंकबीच दुईओटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन ।

शहरी शासकीय सुधार र पूर्वाधार आयोजना तथा आर्थिक वृद्धिका लागि वित्त विकास नीति सहायता गरी दुईओटा सम्झौतामा हस्ताक्षर भएका छन् ।

‘नेपालमा सहरी विकासको सुदृढीकरण र वित्तीय क्षेत्रको स्थिरतामा सुधारका लागि प्राप्त भएको विश्व बैंकको सहयोगप्रति हामी आभारी छौं,’ सम्झौतापत्रमा हस्ताक्षर गर्दै ढुंगानाले भने, ‘यी आयोजनाले नेपालमा संघीयताको कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिँदै सरकारको कोभिड–१९ पश्चात्को आर्थिक पुनरुत्थानका प्रयासमा योगदान पुर्‍याउने छन् ।’

अर्थ मन्त्रालय र विश्व बैंकद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार १५ करोड अमेरिकी डलर (करीब १८ अर्ब रुपैयाँ) बराबरको शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाले दुई रणनीतिक शहरी समूहहरूमा अवस्थित ३३ ओटा नगरपालिकाहरूलाई सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्