कोरोना खोप ल्याउन अध्यादेश



काठमाडौं, मंसिर ४ । सरकारले कोरोना भाइरसलगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा उपयोग गर्न अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले खोप तथा औषधि खरिद सहज तुल्याउने उद्देश्यले अध्यादेश जारी गरिएको जानकारी दिए।

विश्व बजारमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने सम्भावनालाई ध्यान दिँदै छिटो खोप ल्याउन पूर्वतयारीका लागि अध्यादेश ल्याइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनालगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा प्रयोग गर्नुपरेको अवस्थामा सम्बोधन गर्ने ऐन नभएकाले अध्यादेश जारी गरिएको बताए। ‘कुनै संक्रामक रोगविरुद्ध निर्मित खोप वा औषधि आकस्मिक रूपमा प्रयोग गर्नुपर्ने हुन्छ’, प्रवक्ता प्रा डा गौतमले भने, ‘त्यस्तो परेको अवस्थामा सहजै उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले अध्यादेश ल्याउनुपरेको हो।’

औषधि ऐन २०३५ मा औषधि दर्तासम्बन्धी व्यवस्था छ। औषधि व्यवस्था विभागमा दर्ता भएको औषधि मात्र बिक्रीवितरण गर्न पाउने कानुनी व्यवस्था छ। त्यस्तै, ऐनको दफा ३१ मा कसैले कुनै नयाँ औषधिको क्लिनिकल परीक्षण गर्न चाहे त्यसका लागि विभागबाट तोकिएबमोजिम अनुमतिपत्र लिनुपर्ने हुन्छ। अध्यादेशले यो व्यवस्थालाई खुकुलो बनाएको जनाइएको छ।

यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्