राष्ट्र निर्माणका लागि सबै एक जुट हुन प्रधानमन्त्रीको आव्हान



काठमाडौ,मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माण र समृद्धि तथा जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन सबैलाई आह्वान गरेका छन्।

छठ पर्वका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकतामार्फत् ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने समेत बताएका छन्।

प्रधानमन्त्री ओलीले केही वर्षयता छठ पर्व तराई मधेश र पहाडका नेपाली समुदायबीचको सेतुका रूपमा समेत विकसित हुँदै आएको पनि उल्लेख गरेका छन्।

चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरूले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका प्रधानमन्त्री ओलीले बताएका छन्।

छठ पर्वको उल्लासका बीच विश्वब्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीलाई पनि सामना गरिरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। ‘स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यस वर्षको छठ पर्व मनाउन म सबैमा आह्वान गर्दछु।

यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ। यस महामारीका बाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं।’

प्रधानमन्त्री ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको उल्लेख गरेका छन्। सिंगो देश नयाँ संविधान अनुरूपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्