चीनका रक्षामन्त्री फेङहे यही नोभेम्बरमा नेपाल भ्रमणमा आउने



काठमाडौं मंसिर ५ ।

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे यही नोभेम्बरमा नेपाल भ्रमणमा आउने भएका छन् ।

दिन निश्चित नभए पनि अबको १० दिनभित्रै रक्षामन्त्री फेङहे नेपाल भ्रमणमा आउने तय भएको बताइएको छ । दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढेका बेला उत्तरी छिमेकी चीनले पनि उच्च राजनीतिक भ्रमण तय गरेको हो ।

चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण तय गर्ने क्रममा रक्षा वा विदेश मन्त्रीमध्ये एक जना आउने प्रस्तावमाथि छलफल हुँदा अन्ततः रक्षामन्त्री नै आउने निश्चित भएको हो । चीनका राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङहे नेपाल आउने संभवतः पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् ।

जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा छन्। चिनियाँ सेना पीएलएको रकेट फोर्स कमाण्डर रहिसकेका वेइ राष्ट्रपति सी चिनफिङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका चारमध्ये पहिलो नम्बरका सदस्य हुन् ।

लद्दाखको गलवान क्षेत्रमा चीन र भारतीय सेनाबीच तनाव बढिरहेका बेला सेप्टेम्बर ३ मा रुसको राजधानी मस्कोमा चिनियाँ रक्षामन्त्री वेइले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । अहिले भारतीय सेना र सुरक्षा अधिकारीको नेपाल भ्रमण बाक्लिँदै गएका बेला बेइजिङले पनि रक्षामन्त्री वेइको भ्रमण तय गरेको हो ।

एक महिनाअघि कात्तिक ५ गते भारतको बाह्य गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग राति करिब ३ घण्टा भेटवार्ता गरेका थिए । रअका प्रमुखसँग सरकार प्रमुखले समान हैसियतमा वार्ता गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ ।

गोयल फर्केपछि भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणेले कात्तिक १९ गते नेपालको तीनदिने भ्रमण गरेका थिए । भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंखला दुई दिने नेपाल भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्