काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्यो



काठमाडौं मंसिर ५ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ ।

गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना सङ्क्रमित थपिएका छन् । शुक्रबार काठमाण्डौमा आठ सय ६३, ललितपुरमा एक सय ७४ र भक्तपुरमा ७१ जनालाई सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाण्डौमा अहिलेसम्म ८१ हजार पाँच सय ८५ जनालाई सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ५० हजार चार सय १५ जना पुरुष रहेका छन् भने ३१ हजार एक सय ७० जना महिला रहेका छन् ।

यस्तै ललितपुरमा ६ हजार पाँच सय ७३ जना पुरुष र पाँच हजार दुई सय ९९ जना महिलासहित ११ हजार आठ सय ७२ जनालाई सङ्क्रमण पुष्टि भएको छ । यसैगरी भक्तपुरमा चार हजार एक सय १२ जना पुरुष र तीन हजार एक सय ९८ जना महिला गरी अहिलेसम्म सात हजार तीन सय १० जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार देशैभर एक हजार नौ सय ४५ जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्