चितवन घटनाका दोषीलाई कडा कार्वाही होस: झलनाथ खनाल



काठमाडौ,मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले शनिबार चितवनमा आफ्ना पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको अभद्र ब्यवहारको विरोध गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारवाहीको माग गरेका छन्।

खनालले शनिबार साँझ एक वक्तव्य जारी गर्दै कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्नलाई कडा कारवाहीको माग गरेका हुन्।

‘पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ।’उनले भनेका छन्।

नेता पाण्डेले शनिबार चितवनको राप्ती नगरपालीकाको कमिटी बैठकमा सम्वोधन गरिरहेका बेला उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राम्रो काम नगरेको भन्दै एकोहोरो भाषणा गरेको भन्दै आक्रोशित उनी पक्षका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्