सरकारका ज्यादतीप्रति प्रतिक्रियाहीन नबनौं



जगदीशश्वर नरसिंह केसी

सत्तामा बसेर जे गर्ने हो त्यो नभन्ने, जे भनेको हो त्यो नगर्ने, बेइमान राजनीतिमा प्रचलित अपारदर्शी कम्युनिस्ट आचरण प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग वरण गरेको देखिन्छ । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने उहाँको बारम्बारको अस्वाभाविक भनाइले हामीलाई आश्वस्त बनाएको होइन, आशंकित बनाउन थालेको थियो । आशंका झुटो होस् भनी हामीले चाहे पनि, हाम्रो चाहनाविपरीत सत्य सावित भयो ।

सत्तारुढ नेकपा का ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाभित्रकै एउटा सशक्त र प्रभावशाली पक्षको प्रतिनिधित्व गर्दै हालै प्रस्तुत गरेको १८ बुँदे प्रतिवेदन आफैंमा ओलीजी र उहाँको सरकारको नालायकी र सत्तामा रहन अयोग्य भएको आधारभूत दस्तावेज हो ।

वास्तवमा प्रचण्डद्वारा प्रस्तुत उक्त प्रतिवेदनले प्रधानमन्त्री ओलीमाथि महाअभियोग नै लाग्ने १८ वटा बुँदा उल्लेख गरेको छ । त्यसैले अब यो प्रतिवेदन नेकपाभित्रको आन्तरिक दस्तावेजमात्र भएन, त्यसको अन्तरवस्तु सार्वजनिक चासोको विषय भएकोले नेपाली कांग्रेसले लोकतान्त्रिक विधिउचित आवश्यक कारबाही गर्ने बेला आएको छ ।

प्रचण्डले प्रस्तुत गरेको २० पृष्ठ लामो सो प्रतिवेदनको १२ औं पृष्ठमा प्रस्टसँग उल्लेख छ, “वाईड बडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयातमा घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजश्वका दररेट परिवर्तनलाई चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितताजस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर क. केपी शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।”

सत्तारुढ नेकपामा ओलीसरहको हैसियतका समकक्षी प्रचण्डले एउटा सिंगो पक्षलाई प्रतिनिधित्व गर्दै प्रस्तुत गरेको उक्त प्रतिवेदनबारे प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई त चुप लागेर बस्नु नहुने बनाएको छ नै, सत्तारुढ पार्टीभित्रकै न्यायप्रेमी र निष्ठावान नेता तथा कार्यकर्ताहरूका साथै मतदाताहरू समेत प्रतिवेदनका अन्तर्वस्तुलाई बोकेर वर्तमान सरकारका विरुद्ध उत्रिनु आवश्यक भइसकेको छ ।

यत्रो शासकीय अन्याय, अत्याचार, भ्रष्टाचार, संविधान ध्वस्त, असुरक्षा, दण्डहिनता, कुशासनद्वारा जनताको बाँच्ने सम्भावना तहसनहस बनाइरहँदा पनि मुर्दाशान्ति कायम राखेर सरकारका ज्यादतीप्रति प्रतिक्रियाहीन हुने हो भने हामी कसैको भविष्य उज्वल, सुरक्षित र सुनिश्चित नहुने अवश्यम्भावी छ । त्यसैले समय छँदै सोचौं ।

वर्तमान कम्युनिस्ट नेतृत्वको सरकार मुलुकको लागि भयानक संकटको स्रोतका रुपमा कुख्यात भएर चिनिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्