काठमाडौं उपत्यकामा तीन साता लकडाउन गर्न मेयर फोरमको सुझाव



काठमाडौं मंसिर ७ ।

काठमाडौं उपत्यकाभित्र महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले राजधानीमा बढीमा तीन साता कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ ।

कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई मेयर्स फोरमले सुझाव दिएको हो ।

‘कोभिड–१९ महामारीको दोस्रो चरण देखिएपछि युरोपका धेरैजसो मुलुकमा पुनः लकडाउन शुरु भएकोले काठमाडौं उपत्यकामा पनि शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रणको लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन आवश्यक रहेको फोरमको भनाइ छ ।

फोरमले सरकारलाई आफ्नो प्रस्ताव बुझाएपनि यस सम्बन्धमा अन्तिम निर्णय भने सरकारले नै गर्नुपर्नेछ । काठमाडौं उपत्यकामा मात्रै संक्रमितहरुको संख्या एक लाख नाघेको छ । हालसम्म मुलुकभर संक्रमितको संख्या दुई लाख २० हजार नाघेको छ भने मृतकको संख्या एक हजार तीन सय २१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्