उपत्यकाका विद्यालय खोल्ने अवस्था छैन



काठमाडौं, मंसिर ८ । कोरोना भाइरसको हटस्पष्ट बनेको राजधानी उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था नरहेको उपत्यका मेयर फोरमले निष्कर्ष निकालेको छ ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा विद्यालय खोल्न सक्ने सम्भावना कम रहेको बताएका हुन् ।

चिसो मौसममा कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकलन गर्दै यो विषयमा तत्काल निर्णय लिनसक्ने अवस्था नभएको मेयर फोरमले निष्कर्ष निकालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको अवस्थाको विश्लेषण गरी विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएपछि फोरमले उक्त निष्कर्ष निकालेको हो । मन्त्रालयले करिब डेढ साताअघि कार्यढाँचा सार्वजनिक गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेको थियो ।

तत्काल विद्यालय खोल्ने वा नखोल्ने विषयमा महानगरले निर्णय गर्ने मेयर शाक्यले बताउनुभयो । उपत्यकाका तीन जिल्लाका विद्यार्थी तीनवटै जिल्लामा रहेका विभिन्न विद्यालयमा पढ्न जाने भएका कारण सबैको एउटै धारणा हुनुपर्ने मेयर शाक्यले बताए ।

‘पहिला उपत्यकाको अवस्थाबारे अध्ययन गर्छौं, त्यसपछि निर्णय गर्ने छौं ।’ उनको भनाई छ । मेयर शाक्यका अनुसार विद्यालय खुला गर्नुअघि कार्यविधि अध्ययन गरी विष्लेषण गर्ने र त्यसपछि सामूहिक निर्णय गर्ने तयारी गरेको छ ।

झन्डै एक लाख हाराहारीमा संक्रमित रहेको उपत्यकामा विद्यालय खोल्नुअघि करिब ३ हजार आइसोलेसन वेड तयार गर्ने, स्वाथ्य मापदण्डको विषयमा अध्ययन गर्ने, विद्यालयहरुको भौतिक अवस्थाबारे जानकारी लिनेलगायत विषयमा विस्तृत अध्ययनपछि मात्रै विद्यालय खोल्ने वा नखोल्ने विषयमा निर्णय गर्ने महानगरले तयारी गरेको छ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्