नवनिर्वाचित सांसद पाण्डेले लिए शपथ



काठमाडौं मंसिर ८ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन् । सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई ज्ञापन गरे । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको हो । नेपाल विद्यार्थी सङ्घबाट २०३७ राजनीतिमा प्रवेश गरेका पाण्डे २०६४ सालको संविधानसभा निर्वाचनमा स्याङ्जाबाट विजयी भएका थिए ।

शपथपछि सञ्चारकर्मीका जिज्ञासामा सांसद पाण्डेले लोकतन्त्रको सुदृढीकरण र सङ्घीय संसद्को गरिमा बढाउने काममा केन्द्रित रहेर आफूले भूमिका खेल्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्