नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रस्ताव देशभर पठाइने



काठमाडौं मंसिर ९ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई देशभर पठाइने भएको छ ।

नेकपाको गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गर्नुभएको मन्तव्यलाई जस्ताको तस्तै सार्वजनिक गरेर चुनौती दिएको विश्लेषणसहित अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रस्तावलाई देशभरका हरेक कमिटीलाई पठाउने भएको हो ।

दाहाल नेपाल समूहले शुरुवातमा बैठक बोलाउन ओलीलाई लेखिएको पत्र, त्यसको जवाफमा ओलीले लेखेको पत्र, त्यसको जवाफमा दाहालले लेखेको पत्र र दाहालकोे राजनीतक प्रस्तावलाई तल्लो तहसम्म छलफलका लागि पठाउने योजना बनाएको हो । दाहाल पक्षधरले ३ मंसिरमा पेस गरेको राजनीतिक प्रतिवेदन बुकलेटका रूपमा प्रकाशन गरेर सातवटै प्रदेशमा पठाउन लागिएको बताइएको छ ।

सोमवार प्रदेश तहमा पठाउन तयार पारिएका बुकलेटमा दाहालको राजनीतिक प्रतिवेदन समावेश गरिएको थियो । तर त्यसमा वरिष्ठ नेता नेपालले आपत्ति जनाएपछि केही सच्याएर आजसम्म सबै प्रदेशमा पठाइसक्ने तयारी गरिएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्