बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु



बैतडी मंसिर ९ ।

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा मंगलबार दिउँसो डेढ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

तीव्र गतिमा रहेका जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ । दुर्घटना वित्तिकै फरार रहेका जीप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएका सबैजना भारतबाट पेन्सन बुझेर आउँदै गरेको बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्