युवा पुस्तामा आयो कांग्रेसको जिम्मेवारी : विश्वप्रकाश शर्मा
काठमाडौं,कात्तिक १२ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको मूल जिम्मेवारी युवा पुस्तामा आएको भन्दै कांग्रेसलाई बलियो बनाउँदै समृद्ध नेपालको अभियानमा जुट्न नवनिर्वाचित नेतृत्वलाई आह्वान गरेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले अबको राजनीति उपलब्धि र परिणाममुखी हुनुपर्ने बताउँदै कामको मूल्याङ्कन परिवर्तन र उपलब्धिका आधारमा हुनुपर्ने धारणा राखे। पार्टीलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमैत्री बनाउन पनि आवश्यक रहेको उनको भनाइ थियो।
शर्माले पार्टीको संस्थागत कार्यशैली र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै विसङ्गति अन्त्य गर्ने दशकका रूपमा अघि बढ्नुपर्ने बताए। महाधिवेशनबाट पद र प्रमाणपत्र प्राप्त गर्नुलाई मात्रै उपलब्धि नठानी कांग्रेसको गौरवशाली इतिहासलाई आत्मसात् गर्दै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने सङ्कल्प गर्न उनले आग्रह गरे।
महाधिवेशनका तीतामीठा अनुभव बिर्सेर अघि बढ्नुपर्ने बताउँदै शर्माले विजयी नेताहरूले आफूलाई मत दिने प्रतिनिधिको विश्वासको सम्मान गर्नुपर्ने र पराजित उम्मेदवारसहित निर्वाचनमा सहभागी हुन नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर अघि बढ्नुपर्ने बताए। उनका अनुसार पार्टी सञ्चालनमा व्यक्तिगत दौडधुपभन्दा संस्थागत योजना र समन्वय प्रभावकारी हुन्छ।
केन्द्रले तय गरेका योजना तथा निर्देशनअनुसार सङ्गठनका कमजोरी सुधार्न र देश तथा नागरिकको हितलाई पार्टीगत स्वार्थभन्दा माथि राखेर काम गर्न पनि उनले नवनिर्वाचित नेतृत्वलाई आग्रह गरे।
यसैगरी, जलवायु परिवर्तनका कारण नागरिकले भोगिरहेको सङ्कटप्रति सरकार र जनप्रतिनिधि गम्भीर बन्नुपर्नेमा जोड दिँदै उनले विपद् प्रभावित परिवारको जीवनरक्षा, जोखिम न्यूनीकरण र जनजीविकामा सुधार ल्याउन सरकारसँग सहकार्य गर्नुपर्ने बताए। पार्टीप्रतिको समर्पणलाई देश र जनताको सेवासँग जोडेर इमानदारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।

