नुवाकोट पञ्‍चकन्यामा महिलालाई अदुवा प्रशोधन तालिम



घलेभञ्ज्याङ मंसिर ९ । नुवाकोट जिल्लाको पञ्‍चकन्या गाउँपालिका वडा नं ३ मा अदुवा प्रशोधन तथा मूल्य अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ ।

पञ्‍चकन्या गाउँपालिका र थाइल्यान्ड सरकारको ५०/५० प्रतिशत आर्थिक सहयोगमा स्थानीय महिलाहरुको जीविकोपार्जनमा सहजता होस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

सोमबारदेखि सुरु तालिम मनकामना महिला कृषक समूह पञ्चकन्या ३ ले आयोजना गरेको हो । अध्यक्ष कुमारी तामाङले समूहमा आबद्ध महिलाहरुलाई प्राथमिकता दिई तालिम आयोजना गरिएको बताइन् ।

समूह बाहिरका इच्छुकलाई समेत समेट्न खोजिए पनि चासो दिने कम र कोरोना भाइरस महामारीको जोखिमका कारण सीमित सहभागी भएको उनको भनाइ छ । तालिममा १९ जना सहभागी छन् ।

तालिममा सुठो बनाउने, जिन्जर पाउडर, जिन्जर क्यान्डी बनाउन सिकाइँदै छ । प्रशिक्षक सुदेश सुवेदीले अदुवाको उचित मूल्य नपाएको बेला प्रशोधन गरी मनग्य आम्दानी लिन सकिने हुँदा यो तालिमपछि महिलाहरुको जीविकोपार्जनमा सहज हुने बताए ।

उनका अनुसार अदुवा प्रशोधनका लागि सोलार डायर, मिक्स कटर स्लाइसर, ग्राइन्डिङ मेसिन पिस्ने र टिल्टिङ ड्राइ मेसिन आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस्