कोरोना खोप खरिद गर्न ५० अर्बको कोष खडा



काठमाडौं, मंसिर १०। नेपालले विश्व बजारमा कोरोना भाइरसको खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्र्याउन रहेका कानुनी बाधा फुकाइसकेको छ ।

खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले दिए ।

खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ ।

डा गौतमले भने, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु पर्यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।” दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज हुनेछ ।

अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन् । विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको हो ।

सहुलियतको खोप र व्यावसायिक रूपमा खरिद गर्ने दुवै थरी खोप नेपाल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयले हातेमालो गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

त्यस अनुसार खोप नेपाल ल्याउन स्वास्थ्य सेवा विभाग खोप शाखाअन्तर्गत डा श्यामराज उप्रेतीको संयोजकत्वमा बनेको विज्ञ समूहले योजना सहितको प्रस्ताव बनाएर स्वास्थ्य मन्त्रालयमा पेस गरेको बताइएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्