‘लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानः ‘लैङिगक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’



(नेपालमा वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना)

आज नोभेम्बर २५ अर्थात् महिला हिंसाविरुद्धको दिवस । हिंसाको अन्त्य गर्न २०७५ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।
‘लैङिगक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ आजै देखी डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । २०५४ सालदेखि यो अभियान निरन्तर चलिरहेको छ । लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्धेश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ । तर यस वर्ष कोरोना भाइरसका कारण भौतिक रुपमा उपस्थित हुन नसक्ने भएकाले भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने तयारी भइरहेको मन्त्रालय अन्तर्गतको लैङ्गिक हिंसा निवारण शाखाले जनाएको छ ।

के हो १६ दिने अभियान ?

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ देखि सुरु भएको हो ।

यसको मुख्य उद्देश्य लैंगिकतामा आधारित सबैखाले हिंसा र अपराधलाई अन्त्य गरी महिला र पुरुषबीचको असमानता हटाउनु हो । यो अभियानको सुरुआतमा विभिन्न २० देशका २३ उत्साहित महिलाको सहभागिता थियो । हाल यो अभियान विश्वभर मनाईने गरिन्छ । यो अभियानको थालनीको एक कारण १९६० नेभोम्बर २५ तारिकका दिन डेमिनिक रिपब्लिक तानशाहले आफ्नो सरकार विरुद्ध आन्दोलन गर्ने एकै परिवारका ३ दिदीबहिनीलाई गरेको हत्यालाई पनि लिइने गरिन्छ । ती तीन दिदीबहिनीको साहसलाई सम्मान गर्दै ल्याटिन अमेरिकी देशहरुबाट नोभेम्बर २५ कै दिनलाई अभियानको रुपमा मनाउन थालिएको हो । भने संयुक्त राष्ट्रसंघको साधारण सभाले १७ डिसेम्बर १९९९ मा मात्रै यस दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको औपचारिक मान्यता दिएको थियो ।

बढ्दै महिला हिंसा

सरकारले महिला हिंसाका घटना कम गर्न हरेक वर्ष यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ । तर हिंसाका घटना भने वर्षेनी बढ्दै गइरहेका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङअनुसार वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना भएको देखिन्छ । गत आर्थिक वर्षमा १५ हजारभन्दा बढी महिला हिंसाका घटना घटेका थिए । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौं, असोज) मा मात्र १ हजार ९ सय घटना भएको रिपोर्ट प्राप्त भएको छ । जसमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । तीन महिनामा १ हजार ३ सय ४२ वटा घटना घटेका छन् । जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, दाइजोप्रथा, बालविवाह, बहुबिवाह, जातीय छुवाछुत, बोक्सी आरोप, अवैध गर्भपतन, बालयौन दूराचार, अप्राकृतिक मैथुनलगायतका घटनाहरु भएका छन् । लैङ्गिक हिंसाको अन्त्य गर्न सरकारले गरेको पहलले वास्तविक पीडित महिलालाई कुनै राहत मिलेको छैन । पितृसतात्मक सोच अझैं हट्न सकेको छैन
समाजमा पितृसतात्मक सोच अझैं हट्न नसकेको महिलाका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरु बताउछन् ।

भेदभावजन्य कुरुती, समाजको संरचनालगायतले हिंसाका घटनामा थप बल पुग्ने गरेको उनिहरु बताउँछन् । यद्यपी सदियौंदेखि भइरहेको व्यवहारलाई यस्तै विभिन्न अभियानले हटाउँदै लैजाने उनिहरुको विश्वास छ । व्यक्तिगत सोचमा परिवर्तन आएपछि मात्र महिला माथि हुने हिंसाका घटना कम हुने अधिकारकर्मीको भनाई छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले पनि सचेतना जगाउन सहयोग पुर्याएको छ । अभियानले महिलाहरुलाई सजक हुन केही सघाउ पुर्याएको छ । जस्तो कि आफुलाई हिंसा परेको महशुस गर्न र हिंसा सहेर बस्नु हुदैंन । आवाज उठाउनुपर्छ भन्ने सोचको विकास भएको छ ।
विभिन्न अध्ययनहरु अनुसार विश्वभरीका प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् ।

धेरैजसो हिंसा उनीहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट हुने देखिएको छ । त्यस्तै अर्को अध्ययनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार हुने गरेका देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्