वाग्मती प्रदेशको सभागृह र प्रदेशसभा भवन शिलान्यास



मकवानपुर मंसिर १० । वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयको सभागृह र प्रदेशसभा भवन निर्माणको बुधबार बिहान शिलान्यास गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका –२ स्थित कार्यालयको जमीनमा सभागृह र हेटौंडा –१० मा निर्माण हुन लागेको प्रदेशसभा भवनको शिलान्यास गरिएको हो । सभागृह वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले र प्रदेशसभा भवन शिलान्यास सभामुख सानुकुमार श्रेष्ठले गरेका हुन् ।

भवन शिलान्यासपछि मुख्यमन्त्री पौडेलले राज्यका साझा सम्पत्ति तीनै तहका सरकारले सदुपयोग गर्न सक्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले स्थायी राजधानी घोषणासँगै अस्थायी मानसिकता हट्दै गएको उल्लेख गर्दै प्रदेश सरकारले अब स्थायी संरचना निर्माण गर्दै जाने बताए । उनले निर्माण कम्पनीलाई निर्धारित समयअगावै कामसक्न अनुरोध गर्दै काम चाँडो सके पुरस्कृत गरिने तथा तोकिएको समय कटाए आवश्यक कारवाही गरिने चेतावनी दिए ।

सभामुख श्रेष्ठले वाग्मती प्रदेशका प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, विभिन्न मन्त्रालयलगायत संरचना एकैस्थानमा निर्माण गर्नका लागि प्रदेश सरकार लागिपरेको बताए । सभामुख श्रेष्ठले सामरिक हिसाबले उपयुक्त स्थानमा राजधानी तोकिएको र त्यो महत्वलाई कायम राख्दै संरचना निर्माण गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्