शैलुङ इन्टरप्राईजेज फेरि अदालतमा



काठमाडौं मंसिर १० ।

यूरिया मल आपूर्तिको जिम्मा पाएको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेजले कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयविरुद्ध फेरि उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

२५ हजार मेट्रिक टन युरिया मलको पहिलो ठेक्का अलपत्र पारेपछि गत भदौमा कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल आफैंले शैलुङलाई कारबाहीको प्रकृया अगाडि बढाएका थिए ।
कालोसूचीमा नराख्न र धरौटी जफत नगर्न मागसहित शैलुङले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उक्त मुद्दामाथि अझै फैसला हुन बाँकी छ ।

तर शैलुङले ३० हजार मेट्रिक टन बराबरको अर्को ठेक्का पनि अलपत्र पारेपछि कृषि सामग्री कम्पनीले दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय गरेको छ । कृषि सामग्रीको उक्त निर्णयविरुद्धसमेत शैलुङ पुनः अदालत पुगेको हो ।

मल ठेक्का प्रकरणमा अदालतले ‘महामारीको कारण देखाएर ठेकेदार कम्पनीले उन्मुक्ति नपाउने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । पहिलो मुद्दा चलिरहेकै बेला कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्