जग्गाको विषयमा दुई पक्षबीच झडप,एकजनाको मृत्यु



रौतहट मंसिर १० ।

रौतहटको गरुडा नगरपालिका वडा नं ७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका ७ भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा गम्भीर घाइते भएका थिए ।

घाइते फतिंगाको गरुडाकै एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी रवि रावलले बताए । प्रहरीका अनुसार चिरान काठ प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगा ठाकुरको जमिनलाई आफनो जमिन भएको दाबी गर्दै आएका थिए ।

जग्गा विवादले बुधबार उग्ररुप लिँदा दुवै पक्षबीच कुटाकुट भएको थियो । सोही क्रममा तीन जना मिलेर फतिंगालाई चिरान काठ प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गरुडाकै एक अस्पतालमा पु¥याइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी रावलले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको र घटनामा संलग्न रहेका मध्ये ध्यानी ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको डीएसपी रावलले बताए ।
मंगलबार पनि कुटपिटकै कारण रौतहटमा एक व्यक्तीको ज्यान गएको थियो । मंगलबार वृन्दावन नगरपालिका ७ सखुवा धमौरामा दुई छिमेकीबीच भएको विवादमा अमिरी पासवानको ज्यान गएको थियो ।

घटनामा सँलग्न रहेको आरोपमा प्रहरीले स्थानीय विकास पासवान र बिन्दा पासवानलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्