नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपाने ठगी आरोपमा पक्राउ



काठमाडौं मंसिर १० ।

नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरेको छ ।

उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोपमा प्रहरीमा उजुरी दिएको थियो । सोही आधारमा न्यौपानेलाई बुधबार दिउँसो पक्राउ गरिएको जनाइएको छ ।

न्यौपाने २०५६–२०५७ र २०७०–२०७५ सम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । जसमध्ये उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भइसकेको छ ।

न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण मिडियामा सार्वजनिक भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक मुछिएपछि पाठकले पद छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्