आज र भोलि भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदै



काठमाडौं, मंसिर ११ । सरकारले आज र भोली मूलुकभरका २७ लाख ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउँदैछ । यसअघिको आर्थिक वर्षको दोश्रो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम बैशाखमा गर्ने भनिएतापनि असारमा सरेकाले कार्तिकमा गर्ने गरिएको कार्यक्रम मंसिरमा गर्न लागिएको हो ।

पहिलो चरणको राष्ट्रिय भिटामिन कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएकोमा यस पटक भने कोरोना संक्रमणका कारण ५ हप्ता पछि सरेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीकाअनुसार, २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबिालकालाई बालभिटा खुवाउने लक्ष्य सरकारको छ ।

कार्यक्रम सातै प्रदेशमा सञ्चालन हुने कार्यक्रममा भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका, जुकाको औषधि एक देखि ५ वर्षसम्मका तथा बालभिटा ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई दिईनेछ । कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वयंसेविका र २५ हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्