त्रिशूलीमा पिकअप भ्यान खस्यो, बेपत्ता तीनमध्ये दुईको शव फेला



चितवन मंसिर ११ । जिल्लाको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेको छ । त्यसक्रममा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहीबार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो ।

सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोकाको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो ।

प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्