भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गर्छौं : मन्त्री अर्याल



काठमाडौं मंसिर ११ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्नुपर्ने बताएकी छन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोगको पहिलो पूर्ण बैठकलाई बिहिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले लामो समयदेखि रहँदै आएको भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने बताइन् । उनले सहमति भए आधा–आधा बराबरी बाँडफाँड हुने र सहमति हुन नसकेमा राज्यले गरिदिने समेत बताइन् ।

भूमिहिन सुकुम्बासीलाई भूमिको मालिक बनाउने सरकारको अभियान भएको भन्दै मन्त्री अर्यालले कानुन निर्माणदेखि बिहीबारको संघर्षसम्म आइपुग्दा ठूलो उपलब्धी हासिल गर्न नसकिने बताइन् । अझ धेरै उपलब्धी हासिल गर्न बाँकी रहेको उनको भनाइ थियो ।

मन्त्री अर्यालले जतिखेर जनताको हातमा रातो पुर्जा दिन सकिन्छ, त्यतिखेर मात्र आयोगको कामले सफलता प्राप्त गर्ने बताइन् । सरकारले महत्वपूर्ण र जटिल खालको जिम्मेवारी दिएको भन्दै उनले त्यो विश्वास कायम गर्न आयोगका पदाधिकारीहरुलाई आग्रह गरिन् ।

जमिनलाई उपयोग गरेर उत्पादन बढाउनका निम्ती भूमि बैंकको अवधारणा ल्याइएको बताउँदै उनले मानव र प्राकृतिक स्रोतको मिश्रणबाट नै विकास सम्भव रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्