जीवन बचाउने आशामा नुवाकोट पञ्चकन्याका राजन, ब्रेन ट्युमरको शल्यक्रियाका सहयोगको अपिल



• भरतसन्तोषी लामा

नुवाकोट,कात्तिक ३० । उमेर ३१ वर्ष। परिवार र आफ्नो भविष्यका लागि केही गर्ने उमेरमा छन् राजन सिटौला। कृषि व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका उनी यतिबेला भने जीवनकै कठिन मोडमा छन्। डेढ वर्षदेखि ब्रेन ट्युमर (मस्तिष्कमा हुने गाँठो) सँग जुधिरहेका नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ निवासी राजन अहिले उपचारका लागि आर्थिक सहयोगको प्रतीक्षामा छन्।

सामान्य जीवन बिताइरहेका राजनलाई डेढ वर्षअघि ब्रेन ट्युमर देखिएपछि जीवनको बाटो नै बदलिएको छ। रोगसँग लड्दै आएका उनी अहिले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। चिकित्सकको सल्लाहअनुसार उनको शल्यक्रिया गर्नुपर्ने भएको छ। तर उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा परिवार थप चिन्तामा परेको छ।

राजनको शल्यक्रियाका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। अहिलेसम्म विभिन्न माध्यमबाट करिब तीन लाख रुपैयाँ मात्र जुटेको छ। अझै १७ लाख रुपैयाँ जुटाउनुपर्ने अवस्था छ। सामान्य कृषि व्यवसायबाट परिवारको गुजारा चलाउँदै आएका राजनका लागि यति ठूलो रकम जुटाउनु आफैँमा ठूलो चुनौती बनेको छ।

एकातिर गम्भीर रोगसँगको संघर्ष, अर्कोतिर उपचार खर्चको चिन्ता। राजन र उनको परिवारका लागि अहिले हरेक दिन आशा र निराशाबीच बितिरहेको छ। समयमै आवश्यक उपचार पाउन सके पुनः सामान्य जीवनमा फर्किने आशा बोकेका राजनलाई अहिले आर्थिक सहयोगको खाँचो छ।

आफ्नो जीवन बचाउन संघर्ष गरिरहेका राजनको उपचारमा सहयोग जुटाउनु मानवीय दायित्व पनि हो। सानो–ठूलो सहयोगले उनको उपचार यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ। जीवनको कठिन मोडमा रहेका राजनलाई फेरि आफ्नै खुट्टामा उभिएर कृषि व्यवसायमा फर्किने अवसर दिलाउन सहयोगी हातहरूको प्रतीक्षा गरिएको छ।

राजनको उपचारका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले परिवारसँग सम्पर्क गरी सहयोग गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्