चार करोड २३ लाख संक्रमणमुक्त, १४ लाख २६ हजारको मृत्यु



एजेन्सी,मंसिर १२ । विश्वभर कोरोना भाइरसका चार करोड २३ लाखभन्दा बढी बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार चार करोड २३ लाख ७६ हजार ५ सय ५८ जना संक्रमित कोरोनामुक्त भएको उल्लेख छ ।

त्यस्तै हालसम्म विश्वभर ६ करोड १२ लाख ८३ हजार २२ जनामा कोरोना संक्रमण पाइएको छ ।संक्रमितमध्ये १४ लाख २६ हजार आठ सय ६० जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ७४ लाख ७१ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिका रहेको छ। अमेरिकामा हालसम्म १ करोड ३२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७८ लाख ४६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६९ हजार पाँच सय ५२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै छिमेकी राष्ट्र भारतमा हालसम्म ९३ लाख आठ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८७ लाख १६ हजारभन्दा बढी निको भएका छन् भने भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५ हजार सात सय ३४ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख २७ हजार ६ सय ४० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख नौं हजार चार सय ३५ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ४ सय १२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्