दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक



काठमाडौं, मंसिर १२ । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले आपसी सहमतिमै दुई देशबीच देखिएको समस्या हल हुने बताएका छन् ।

विदेश सचिवस्तरीय बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेश सचिव शृंगलाले छलफल एकदमै राम्रो भएको र दुई देशको समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको बताए । ‘वार्ता एकदमै उपलब्धिमूलक भयो,’ उनले भने, ‘वार्ताका एजेन्डा बृहत् रहेको छ ।’ उनले बैठकमा आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै भारतीय दूतावासले दुवै पक्षको थुप्रै द्विपक्षीय पहल र परियोजनामा भएको प्रगतिको सराहना गरेको जनाएको छ । ‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति पनि भयो,’ दूतावासले भनेको छ ।

एक वर्षको अन्तरालपछि नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो । सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व शृंगलाले गरेका थिए ।

सचिव पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए । साथै विदेशसचिव शृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग)का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी सहभागी रहेको बताइएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्