नेप्सेमा नयाँ रेकर्ड: सातामै ३१ अर्बको कारोबार



काठमाडौं, मंसिर १२ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार भएको सेयर बजारमा नेप्से सूचकसमेतमा निकै सुधार देखिएको हो ।

यस साता २ सय १२ कम्पनीको ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार २ सय रुपैयाँबराबरको ७ करोड ५८ लाख ३८ हजार ८ सय ६४ कित्ता सेयर कारोबार भएको छ । यस साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा बजार पुँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख ८९ हजार पुगेको छ ।

सेयर बजारले हालसम्मकै उच्च कारोबार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेप्से सूचकले झन्डै ४ वर्ष ४ महिनापछि फेरि आफ्नै ‘अल टाइम हाई’ रेकर्ड तोडेको हो । बिहीबार बजार १ हजार ९ सय २६ दशमलव ९२ बिन्दुको नयाँ रेकर्ड बनाएर सामान्य हिसाबले फर्किएको थियो ।

यसअघि नेप्सेले २०७३ साउन १२ गते १ हजार ८ सय ८१ पुगेर त्यसअघि लगातार घट्दै १ हजार ९९ बिन्दुसम्म आएको थियो । त्यसपछि विभिन्न समयमा उतारचढाव हुँदै गए पनि कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउन खुला भएपछि बजार निरन्तर बढ्न सुरु गरेको हो । त्यसपछि बजार निरन्तर बुलिस प्रवृत्तिमा रहँदै आएको बताइएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्