पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुसी लाग्यो : भारतीय विदेश सचिव शृङ्गला



गोरखा मंसिर १२ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले गोरखामा पुनर्निर्माण भएका तीन वटा विद्यालयको उद्घाटन गरेका छन् ।

भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका गोरखा नगरपालिकाका महालक्ष्मी मावि, तारा मावि र रत्नलक्ष्मी माविको उद्घाटन गरिएको हो । विदेश सचिव शृङ्गलासहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

गोरखा नगरपालिका लक्ष्मी बजारको महालक्ष्मी माध्यमिक विद्यालयमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै विदेश सचिव शृङ्गलाले नेपालभर दुई सय ७७ वटा विद्यालय र क्याम्पस भवन पुनर्निर्माण गर्न लागेको बताए । त्यसका लागि ६ सय करोड नेपाली रुपैयाँ भारत सरकारले सहयोग गरेको उहाँले जानकारी दिए ।

भारतले पछिल्लो समय गुजरात भूकम्पमा ठूलो क्षति बेहोरेको बताउँदै उनले त्यहाँको सिकाइ नेपालका लागि उपयोगी हुन सक्ने बताए । शृङ्गलाले नेपाली र अङ्ग्रेजी भाषामा सम्बोधन गरेका थिए । नेपाली भाषामा सम्बोधनका क्रममा उनले आधुनिक नेपालको स्थापना गर्नुभएका राजा पृथ्वीनारायण शाहको भूमिमा आउन पाउँदा खुसी लागेको बताए । गोरखाका मानिसहरु आफ्नो बहादुरीका लागि दुनियाँभरमा चिनिने गरेको पनि विदेश सचिव शृङ्गलाको भनाइ छ ।

विदेशसचिवका साथमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि थिए । विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त र महालक्ष्मी मावि व्यवस्थापन समिति अध्यक्ष शिव केसीले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध यस प्रकारको सहयोग आदन–प्रदानले थप प्रगाढ बनेको बताए ।

दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाण्डौ आएका शृङ्गला शुक्रबार दिउँसो स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्