नेपालको हवाई उडानमा प्रतिबन्ध लगाउनुको अर्थ छैनः पर्यटनमन्त्री भट्टराई



काठमाडौं मंसिर १२ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको दाबी गरेका छन् ।

नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताए ।

तरपनि युरोपियन आकाशमा भएको प्रतिवन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उनको भनाई छ । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुइ भागमा विभाजन गरी दुईवटा संगठन बनाउने प्रक्रिया अगाडि बढीसकेको बताए ।

उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल भई अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधि सभामा समेत टेबुल हुने चरणमा रहेको बताए । अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र संगठनात्मक पुनरसंरचनाको कानूनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनैपनि प्रतिवन्धहरु फुकुवा हुने ठाउँमा पुग्ने बताए ।

कोभिडको व्यापक संक्रमण भएको अवस्थामा पनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको दावी समेत मन्त्री भट्टराईले गरे । नियमित उडान बन्द गरिएपनि एयरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उनको भनाई छ ।

अहिले पनि केही अन्तर्राष्ट्रिय गन्तव्य बाहेक नेपाले विगतमा नियमित उडान गरेका गन्तव्यमा नेपालको तर्फबाट खुल्ला गरिएको पनि बताए । नेपालले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणिय भएको पनि दावी गरे ।

प्राधिकरणले सार्वजनिक गरेको सेफ्टी रिपोर्ट अनुसार नेपालमा हवाई उड्डयनमा दुर्घटना कम हुँदै गएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्लो तीन वर्षमा वार्षिक १ वटा दुर्घटना भएको र मानविय क्षति समेत कम भएको बताए ।

हवाई उड्डयनलाई सुरक्षित बनाउन आइकाओको एभिएसन सेफ्टी रिपोर्ट अनुसार प्रोएक्टिभ अवधारणा र रिएक्टिभ अवधारणा अनुसार सेफ्टी रिपोर्ट तयार पारिएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्