प्याराग्लाइडिङमा उच्छृङ्खलता: उड्दाउड्दै पात र फूल टिपेर यात्रुलाई दिन खोज्दा…



काठमाडौं,मंसिर १३ । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए ।

तर, गत सोमबारको दुर्घटनामा परेर पाइलट राजु गैरे नेपाली (३८) को ज्यान गएको घटना भने सबैका लागि नौलो थियो । किनभने टेण्डम (यात्रु सहित) उडान दुर्घटना हुँदा पाइलटले ज्यान गुमाएको यो पहिलो घटना थियो ।

यसअघिका घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दुर्घटनामा पर्दै आएका थिए । टेण्डम उडान दुर्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घाइते हुने गरेका थिए । यो पटक अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाएका छन् ।

सोमबारको घटनाबाट प्याराग्लाइडिङका एकजना अनुभवि पाइलटको ज्यान त गएको छ नै त्यो घटनापछि उडान दौरान पाइलटले गर्ने केही गल्तीबारे पनि बहस चल्न थालेको छ ।

अनुभवि पाइलटहरुका अनुसार प्याराग्लाइडिङ उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन, जसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ ।

प्याराग्लाइडिङका अनुभवि पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने गतिविधि गर्दा पनि दुर्घटनाको जोखिम छ । पाइलटका उश्रृंखल गतिविधिले दुर्घटना दोहोरिने गरेका छन् ।’

प्याराग्लाइडिङ पाइलटका प्रशिक्षक समेत रहेका पराजुलीका अनुसार उडान दौरान यात्रुलाई रोमाञ्चकता दिलाउने भन्दै कतिपय पाइलटले भूइ नजिकै झरेर फूल र रुखको पात टिप्ने गतिविधि पनि गर्छन् ।

त्यसले गर्दा दुर्घटनाको जोखिम बढि हुन्छ । ‘आकाशमा उडिरहेको ग्लाइडरलाई रुख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उश्रृंखलता भन्न सकिन्छ,’ उनले भने, ‘उडिरहँदा फूल र पात टिप्न खोज्नु मुर्खता हो ।’

पात र फूल टिपेर यात्रुलाई दिएर खुसी पार्ने निहुँ पाइलटले बनाउने गरेको उनले बताए । ‘उडिरहेको बेला रुखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई खोजीखोजी कारवाहि गर्नुपर्छ,’ उनले भने ।

श्रोतका अनुसार गत सोमबारको घटना हुनुमा पनि पाइलटले रुखको पात टिप्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, त्यसको यकिन कारण पहिचान गर्न विशेष अध्ययन टोली खटाइएको छ ।

उनका अनुसार उडान दौरान कतिपय यात्रुले नयाँ र रोमाञ्चक गतिविधि गराउन पाइलटलाई अनुरोध पनि गर्छन्।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्