सात वर्षमा १४ हजार ७ सय ५४ महिला तथा बालिका बलात्कृत



काठमाडौं,मंसिर १३ । बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ हजार तीन सय ६३ त १८ वर्षमुनिका बालिका छन् ।

महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए ।

तर, आव ०७६/७७ सम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ । यो वर्ष दुई हजार आठ सय ३१ महिला बलात्कृत भएका थिए । चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको प्रहरीको तथ्यांक छ ।

हरेक वर्ष बलात्कृत हुने बालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०/७१ मा पाँच सय ५९ बालिका बलात्कारको सिकार भएका थिए ।

गत आवमा आइपुग्दा बलात्कृत बालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ । त्यसमा पनि दुई सय ७३ बालिका त दश वर्षभन्दा कम उमेरका छन् । त्यस्तै, चालू आर्थिक वर्षको गत असोजसम्म भएका सात सय २२ घटनामा चार सय ६५ बालिका बलात्कारको सिकार भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘चार वर्षका नाबालिकासम्म बलात्कारको सिकार भएका छन् ।

धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ उनले भने । शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले स्कुलहरूमा गएरै पढाउनसमेत थालेको एसएसपी कुँवरले बताए । पछिल्लो समय हिंसा लुकाउनुहुँदैन भन्ने चेतना बढेकाले प्रहरीमा आउने उजुरी पनि बढेको उनको भनाइ छ ।

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनअनुसार आव ०७५/७६ मा देशभर दुई हजार सात सय ५३ महिला बलात्कारको सिकार भएका छन्, जसमध्ये एक हजार दुई सय ३२ बालिका छन् ।

त्यस्तै, आव ०७४/७५ मा पीडित बनेका एक हजार नौ सय आठ महिलामध्ये सात सय २३ र ०७३/७४ मा एक हजार नौ सय १४ पीडित महिलामध्ये सात सय नौ बालिका रहेको सरकारी तथ्यांक छ ।

यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्