दुप्चेश्वर गाउँपालिकाले दियो विपन्न तथा विदेशमा रोजगार गुमाएकालाई कुखुराको चल्ला



नुवाकोट,मंसिर १३। जिल्लाको दुप्चेश्वर गाउँपालिकाले सेवा क्षेत्रमा रहेका गरिब,विपन्न तथा बिदेशबाट रोजगारी गुमाएर फर्किएकालाई कुखुराको चल्ला वितरण सुरु गरेको छ।आफ्नो सेवा क्षेत्रका त्यस्ता ब्यक्तिहरुको पहिचान गरी बिहिवारदेखि चल्ला वितरण गरिएको गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार पछिल्लो समय गाउँपालिका सेवा क्षेत्रका दुई सय घर धुरीलाई परिवार संख्याका आधारमा ३० देखि ५० वटासम्म चल्ला वितरण गरिएको छ। गिरिराज जातको कुखुराको चल्लालाई ग्रामीण पहाडी भूभागको वातावरण अनुकुल भएकाले सो जातको चल्ला,चल्लालाई आवश्यक दाना,दाना पानी राख्ने प्लास्टिक बकेट  वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

चल्ला खरिद समयमा सय रुपैयाँ परेपनि बिक्री समयमा २५ सय देखि ३ हजारसम्म नाफा किसानले लिनसक्ने छन् । लोकल सरह स्वादिलो जातको गिरिराज कुखुरा पालन र बिक्रीवितरणबाट स्थानीयको दैनिकी जीवनमा आर्थिक पक्ष सवलिकृत र व्यवसायप्रति रुचि बढाउन गाउँपालिकाले यसप्रकारको कार्यक्रम अगाडि बढाएको जनाएको छ।

सम्बोधन परियोजना र गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा प्रदान गरिएको चल्ला वितरण कार्यक्रम अन्तर्गत सोमबारसम्म सेवा क्षेत्रका लक्षित समुदायलाई वितरण गरिसकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्