लामो समयदेखी बन्द रङगशालामा खेलकुद गतिविधि सञ्चालन



पोखरा मंसिर १३ ।

कोरोना कहरका कारण गएको चैत १० देखि बन्द भएका रङ्गशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रङ्गशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको छ ।

आठ महिना बन्द भएको रङ्गशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकुद सहरको रुपमा स्थापित पोखरामा खेल गतिविधि सुरु भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

सरकारले गएको मङ्सिर १ पछि खेल गतिविधि सुरु गर्ने निर्णय गरेको थियो । रङ्गशाला तथा खेलकुद प्रशिक्षण स्थलहरु लामो समयसम्म बन्द हुँदा खेलाडी तथा प्रशिक्षक अभ्यासबाट वञ्चित भएका थिए । फुटबल, भलिबल, ब्याडमिन्टन, बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, कराँतेलगायतका खेलका खेलाडीहरु अभ्यासका लागि रङ्गशाला आउन थालेको समितिका प्रमुख प्रकाश बरालले बताए ।

यसैगरी पोखरामा निजी क्षेत्रबाट सञ्चालित शारीरिक अभ्यास स्थलहरु जिम सेन्टर, फुटसलहरु पनि सञ्चालनमा आएपछि खेल गतिविधि सामान्यीकरण हुँदै गएको बताइन्छ । अझै कोरोना त्रास कायमै रहेकाले साविकमा जस्तो अवस्था नरहे पनि बिस्तारै सामान्यीकरण हुँदै गएको छ, सबै खेलका २५ प्रतिशत हाराहारीमा अभ्यास गतिविधिहरु सञ्चालित छन् ।

रङ्गशालामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनाका लागि सबै खेल सङ्घ, खेलाडी तथा प्रशिक्षकलाई आग्रह गरिएको समितिले जनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई पहिलो सर्त बनाइएको बताइन्छ । यसैबीच देशकै सबैभन्दा ठूलो निर्माणाधीन फुटबल रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ ।

फुटबल रङ्गशालासँगै वैकल्पिक फुटबल मैदान पनि बन्दाबन्दीकै अवधिमा निर्माण सम्पन्न गरिएको हो । भलिबल, टेनिस, ब्याडमिन्टन, बास्केटबल र आर्चरी खेलका पूर्वाधार तथा बहुउद्धेश्यीय कभर्ड हल रङ्गशालाभित्र छ । क्रिकेट मैदान तयारी तयार रहे पनि पूर्वाधार बनाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्