सिमेन्टको मूल्य घट्यो



विरगञ्ज, मंसिर १४ । केही महीनायता सिमेन्टको मूल्य निरन्तर ओरालो लागेको छ । सिमेन्टको बजारमा उच्च प्रतिस्पर्धा भइरहेका बेला कारोना महामारीले अर्को समस्या थपेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले बताए । ‘बजारमा मागभन्दा अधिक आपूर्तिका कारण सिमेन्टको बजार यसै पनि शिथिल थियो । त्यहीँमाथि कोरोना महामारीले मन्दी थप्यो,’ ठाकुरले भने, ‘बन्दाबन्दी खुले पनि निर्माणका कामले गति नसमातेकाले बजार खुम्चिएको छ ।’

बजारमा माग नभएपछि उत्पादकले सिमेन्ट सस्तोमा बेच्न थालेका छन् । बन्दाबन्दीयता क्लिंकर र तयारी सिमेन्टको भाउ घटेको उत्पादकहरू बताउँछन् । क्लिंकरको मूल्यमा ३५ प्रतिशतसम्म कमी आएको उत्पादकले जानकारी दिए । तयारी सिमेन्टको मोल २० देखि २५ प्रतिशतसम्म खस्किएको छ ।

कोरोना महामारी शुरू हुनुअघि प्रति मेटिकटन (मेट) १० हजार रुपैयाँमा विक्री हुने क्लिंकर अहिले ६ हजार ५ सय रुपैयाँमा विक्री भइरहेको उद्यमी बताउँछन् । बन्दाबन्दीअघि प्रतिबोरा ८५० पर्ने अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी)को मूल्य अहिले ६७० रुपैयाँमा झरेको ठाकुरले बताए ।

पोर्टल्यान्ड पोजोलना सिमेन्ट (पीपीसी)को पनि मोल घटेको छ । बोराको ८ सय रुपैयाँसम्म पर्ने यो सिमेन्ट अहिले ५७० रुपैयाँमा विक्री भइरहेको उत्पादकहरू बताउँछन् । स्वदेशमै भाउ सस्तिएपछि क्लिंकरको आयात करीब बन्दजस्तै भएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्